धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन्। तीन दिनदेखि आदर्श सामुदायिक वन, ज्ञान ज्योति, प्रगति र मोहना वन बाटिका सामुदायिक वनमा बाघले आवातजावत गरिरहेकोले सामधानी अपनाउन वडाध्यक्ष राजवहादुर ऐरले स्थानीय बासिन्दामा अनुराेध गरेका छन्।
धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले एउटा बाघ आफ्ना दुई डमरुसहित बडहरा बस्तीसँगै जोडिएको सामुदायिक वनमा रहेको बताए। बुधबार राति धनगढी–३ लालझाडी क्षेत्रको मोहना नदी किनार, भन्सार, मसान टोल क्षेत्रमा बाघ कराउँदै गरेको स्थानीयवासीले बताएका थिए। बाघ कराउँदै गरेको स्थानीयवासीले थाहा पाएपछि सुरक्षाकर्मीलाई खबर गरेको र असुरक्षित महसुस गर्दै आगो बालेर धपाएका थिए।
धनगढीसँगै जोडिएको कञ्चनपुर पुनर्वास नगरपालिकाकी एक महिलाको शुक्रबार बाघको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी थप त्रसित भएका छन्। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएकाे हो।