धनगढी। वामपन्थी एकताका लागि दबाब दिन राष्ट्रका लागि सङ्गीत अभियात्रा धनगढीबाट सुरु भएको छ । शनिवार साँझबाट सुरु भएको सो अभियानका क्रममा जनवादी कलाकारहरुले धनगढीबासीलाई छमछमी नचाएका हुन् ।
सो कार्यक्रममा धनगढी मात्र होइन कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न बस्तीबाट समेत दर्शकहरू ओइरिएका थिए । जनवदी कलाकार जीवन शर्माले आफ्ना चर्चित गीत रातो लालटिन, फकल्याण्डको टापुबाट, मधेसी, पहाडी, हिमाली हामी सबै नेपाली र सिमली छायामा दर्शकलाई नचाएका थिए । उनले जब आन्दोलनले बाटो बिराउँछ अनि जनवादी गीत सङ्गीत चाहिन्छ त्यसले वाम एकताका लागि मद्दत पुग्ने विश्वास व्यक्त गरे।
शाेषक र सामन्तिका बिरुद्ध कम्युनिष्ट आन्दाेलन, जनयुद्ध लगायतका संघ्रर्षका गितले सो टोलीमा रहेका कलाकारहरुले आफ्ना विभिन्न प्रस्तुति दिएका थिए । सो यात्रामा नेकपा [एमाले], नेकपा [माओवादी केन्द्र], नेकपा [एकीकृत समाजवादी], विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा [मसाल] सहितका प्राय सबै वामपन्थी दलसँग निकट २२ कलाकारको सहभागिता छ ।
यसपछि कार्यक्रम चैत ७ गते सुर्खेत, चैत १० गते दाङ, चैत १३ गते बुटवल, चैत १६ गते भरतपुर, चैत १८ गते हेटौडा, चैत २० गते बर्दिबास, चैत २२ गते धरान, चैत २५ गते बिर्तामोड, चैत २८ गते पोखरा र वैशाख ५ गते काठमाडौँ पुगेर सम्पन्न हुनेछ ।