सुदूरपश्चिममा फेरि बढ्न थाल्यो कोरोना, ६ जनामा संक्रमण फेला

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ। कोरोना भाइरसको संक्रमण दर केही महिनायता शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएकाे छ ।

पछिल्लो २४ घन्टामा ६ जनामा कोरोनाको संक्रमण देखिएको र यो तथ्यांकमा केही दिनअघिका कोरोना संक्रमितको संख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ। पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो। कोरोनाको संक्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ। निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको जानकारी दिए। 

कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.