धनगढी । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्।
सिन्धुली प्रहरीका अनुसार ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेमा तीन पुरुष र तीन महिला छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। बाँकीको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ।
बसमा ३४ जना यात्रु रहेको जनाइएको छ। बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको अनुमान छ। बस चालक फरार रहेको प्रहरीले जनाएको छ।