यूएईविरुद्ध रोमाञ्चक जीत दर्ता गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुको शीर्ष ३ मा पर्ने सम्भावना जीवित राखेको छ । घरेलु टोलीविरुद्ध ४२ रनको जीत दर्ता गर्दै नेपालले महत्त्वपूर्ण २ अंक बटुलेको हो । यससँगै ३२ अंकका साथ नेपाल अंक तालिकाको पाचौं स्थानमा उक्लिएको छ ।
अब नेपालमा हुने ४ खेलमा जीत निकाल्न सके नेपाल शीर्ष ३ मा परेर सिधै विश्वकप क्वालिफायरमा पुग्ने छ भने थप २ जीत दर्ता गर्दा १ दिवसीय मान्यता जोगिने छ । २३० रनको विजयी लक्ष्य पछ्याएको यूएई अलआउट हुन पुग्यो । यूएईलाई लक्ष्यसम्म पुग्न नदिने क्रममा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले शानदार बलिङ गरे ।
यसअघि भीम सार्कीको ७०, आरिफ शेखको ४३, कुशल मल्लको ३२ र सन्दीप लामिछानेको २७ रनको मद्दतले नेपालले २२९ रनको योगफल तयार पारेको थियो । यससँगै नेपालले यूएई सिरिजका ४ मध्ये ३ खेलमा जीत हात पार्न सफल भएको छ ।