काठमाडौ। तत्कालीन नेकपा (माओवादी) र सात राजनीतिक दलहरूबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रिया निष्कर्षमा पुगेका छैन। सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमार्फत शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउने काम भइरहेको छ। तर जनआन्दोलनमा मारिएका मानिसलाई लिएर प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध रिट दर्ता गर्नु भनी सर्वोच्च अदालतले आदेश दिएपछि विभाजित माओवादीहरूको एउटै स्वर देखिएको छ।
जनयुद्धका शहीद तथा बेपत्ता सन्तती फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा माओवादीबाट विभाजित छवटा पार्टीका नेताहरूले माओवादी आन्दोलनलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिनेसम्मको चेतावनी दिए। साथै तत्कालीन माओवादी शक्तिहरू अब एक भएर अघि डढ्नुपर्नेमा नेताहरूकाे जोड थियाे। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौँ शहीद र बेपत्ताका सपना बदनाम गराउँदैमा बदनाम नहुने भन्दै उनले माओवादी शक्तिहरू एक भएमा विजयको यात्रा फेरि तय गर्न सकिने भएकाले विभाजित माओवादीहरू एक हुने समय आएको टिप्पणी गरे।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी क्रान्ति मूलभूत रूपमा सफल भएको र शान्ति प्रक्रियामा आउनु ठीक निर्णय भएको भन्दै तत्कालीन अवस्थामा शान्ति प्रक्रियामा नआएको भए मुलुकले अरू ठूलो क्षति बेहोर्नुपर्ने अवस्था रहने बताए । विभाजित भएका माओवादीहरू अब एक भएर नयाँ क्रान्ति गर्न सम्भव रहेको चर्चा गर्दै डा. भट्टराईले भने, “माओवादी आत्मसमीक्षा गरेर एक ठाउँमा आउनुपर्छ, माक्सवादका आधारभूत कुरालाई टेकेर अगाडि बढ्ने हो, माओवादकै पछि लाग्नुपर्छ भन्ने छैन।”
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिए भने नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले अधुरा रहेका क्रान्ति सम्पन्न गर्न सबै कम्युनिस्ट शक्तिहरू मिल्नुपर्ने चर्चा गरे । कार्यक्रमा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, माओवादी क्रान्तिकारीका नेता दिनेश शर्मा, बेपत्ता तथा शहीद परिवार आन्दोलनका अगुवा एवं अधिवक्ता एकराज भण्डारीलगायतले बोलेका थिए।