धनगढी। कैलालीको धनगढीस्थित छ लेनको सडकमा लगाइएको तारजाली नाघेर मान्छेले बाटो काट्ने कार्यको व्यापक आलोचना भएको छ। जान्ने बुझ्ने मान्छेले त्यस्तो किसिमको लाजमर्दो हर्कत गर्न नहुने भन्दै केहीले आलोचना गरेका छनभने धेरैले कारवाहीकाे माग गरेका छन्।
छ लेनको सडकको मेडियनमा लगाइएको बोटबिरुवा जोगाउन र जथाभावी बाटो काट्नमा रोक लगाउनका लागि मेडियनको दुवैतिर तारजाली लगाइएको छ तर केही व्यक्तिले सो तारजाली नाघेर बाटो काटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियो खिच्ने पत्रकार तेज बोहराले नागरिक आफैँ नसुध्रिएसम्म गोपाल, बालेन, हर्क जो आए पनि केही नहुने उल्लेख गर्दै ठुल्ठूला आदर्शका कुरा गर्ने नै असभ्य भइरहेको तर्क गरेका छन्।
छ लेनको सडकमा तीन सय मिटरको दूरीमा बाटो काट्ने जेब्रा क्रसिङ बनाइएको छ तर मान्छेले त्यति दूरीमा पनि हिँड्न अल्छी मान्ने गरेका छन्। यसअघि तारजाली नलगाइएको बेला मेडियन फुटाएर जथाभावी बाटो काट्ने गरिएको थियो। त्यो कार्यलाई नियन्त्रण गर्नका लागि तारजाली लगाइएको हो। अहिले तारजालीसमेत नाघेर मान्छेले बाटो काट्ने कार्य गरिरहेका छन्।
तारजाली नाघेर बाटो काट्नेलाई कारबाही गर्नुपर्ने कतिपयको माग छ। धनगढीका शिवनारायण रानाले छाडा प्रवृत्तिका व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।