धनगढी । सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला कैलालीमा हात्तिपाइले रोग निवारणको लक्षमा पुग्न सकेको छैन । ६ पटकसम्म अनिवार्य औषधी सेवन गर्नुपर्ने भएपनि सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलालीमा औषधी सेवनको लक्ष प्राप्त हुन सकेको छैन । जिल्लाको ६५ प्रतिशतले औषधी सेवन गर्नुपर्ने भएपनि करिब ५० प्रतिशतले मात्रै ५ पटक औषधी सेवन गरेका छन् । यस बर्ष कैलालीमा एघारौँ पटक हात्तिपाइले निवारणका लागी औषधी खुवाउने अभियान सञ्चालन हुन लागेको छ ।
सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलाली जिल्लामा हात्तिपाइले निवारणका लागी आम औषधी सेवन अभियानको एघारौँ चरणमा पुग्दासम्म ४९ दशमलव ६७ प्रतिशतले मात्रै औषधी सेवन गरेका छन् । सरकारले बर्षेनी औषधी सेवनका लागी करोडौँ बजेट खर्च गर्ने तर त्यसको उपलब्धी नदेखिनुले सरकारी निकायकै कमजोरी नागरिक अगुवाहरुले औँल्याएका छन् । सरकारले लगानी गरे अनुसार उपलब्धी हुने गरी सम्बन्धित निकायले काम गर्नुपर्नेमा उनीहरुकाे जोड छ ।
तर, औषधी नखाँदापनि केही हुँदैन भन्ने गलत मनसाय बोक्ने प्रवृतीका कारण ११ चरणको औषधी सेवन अभियानमा पुग्नुपरेको स्वास्थ्य कार्यालय कैलालीका हेल्थ असिस्टेन्ट मिन बहादूर धामीले बताए । दिनभरी मजदूरी गर्ने बर्ग, अनी धेरै जानेको र नखाँदापनि केही हुँदैन भन्ने बर्गका कारण हामी लक्षमा पुग्न सकेका होइनौँ धामीले भने “यस पटकको औषधी सेवन अभियानमा सबैले सरिक भए हामी लक्षमा पुग्ने थियौँ, फागुन ११ गते हामी जिल्ला समन्वय समितिको प्रागंणमा हात्ती पाइले बिरुद्धको औषधी सेवन अभियान शुरु गर्दैछौँ, यस अभियानमा सबैले सहयोग गर्नुहुन्छ र यस बर्ष हामी लक्षमा पुग्नेछौँ भन्ने आशा लिएका छौँ ।”
गर्भवती महिला, ७ दिन भित्रका सुत्केरी, २ बर्षमुनीका बालबालिका, सिकिस्त बिरामी बाहेकले हात्तिपाइले बिरुद्धको औषधी सेवन गर्न मिल्ने जनाइएको छ । केही बिरामी भएका कारण लक्षमा पुग्न नसकिएपनि औषधी सेवन नगरेकै कारण लक्ष प्राप्त हुन नसकेको चिकित्सक बताउँछन् । सबैले औषधी सेवन गरे पक्कै यसै बर्ष लक्ष प्राप्त गर्न सकिने चिकित्सकको भनाई छ ।