धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार हुन नदिन निर्मम भएर लाग्ने बताएका छन्। आफू जति दिन सरकारमा बसे पनि भ्रष्टाचार रोक्न प्रतिबद्ध भएर काम गर्ने शुक्रवार जिल्ला समन्वय समितिको सातौं जिल्लासभा तथा वार्षिक प्रगति समिक्षा र अनुभव आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री शाहले यस्ताे बताएका हुन्।
राम्रो काम गर्न भनेर जनताले हामीलाई जिताएर पठाएका छन्। धेरै कुरा सिक्न बाँकी रहेको भए पनि आफूमा केही गर्नुपर्छ भन्ने हुटहुटी रहेको भन्दै जति दिन सरकारमा रह्यो त्यति दिन सम्म प्रदेशको समग्र विकास र नीतिगत सुधारका क्षेत्रमा काम गर्ने मुख्यमन्त्री शाहले बताए। ‘म कमिसन खानेवाला छैन’ शुक्रवार जिल्ला समन्वय समितिको सातौं जिल्ला सभा तथा वार्षिक प्रगति समिक्षा र अनुभव आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री शाहले भने, ‘अहिले भ्रष्ट्राचारको धेरै समस्या रहेको गुनासो आउने गरेको छ, त्यसलाई पनि रोक्ने प्रयास गर्ने छु, जानेको राम्रो गर्छु नराम्रो गर्ने छैन।’
मुख्यमन्त्रीको रुपमा रहेर कतैबाट कमिसन खाएको वा भ्रष्ट्राचार गरेको सुनिएमा आफू जस्तो सुकै कारबाही सहन तयार रहेको उनले बताए।मुख्यमनत्री शाहले प्रदेशको सामाजिक एकतालाई आफूले विशेष ख्याल राख्ने बताए। उनले प्रदेशबाट टुक्रे योजना बढी जाने गरेको गुनासोलाई पनि सम्बोधन गर्दै त्यस्ता योजना आगामी दिनमा नल्याइने बताए।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाकी उपसभामुख कोइलीदेवी चौधरीले प्रदेश सरकार निर्माणमा देखिएको अन्यौलका कारण जनतामा निरासा छाएको भन्दै सबै मिलेर दीगो सरकार निर्माण गरिनु पर्नेमा जोड दिइन्। उनले हरेक बर्ष खेती गर्ने समयमा किसानलाई रासायनिक मलखाद पाउन समस्या हुने गरेको बताउँदै प्रदेश सरकारले त्यसतर्फ गम्भीर हुनुपर्ने बताइन्।