धनगढी । कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी कुखुरा व्यवसायी भए पनि निरन्तरको घाटाको व्यापारका कारण पेशाबाट पलायन हुनेको संख्या बढ्न थालेको छ। स्थानीय किसानका कुखुरा बिक्री गर्न तयार हुँदा भारतबाट तस्करी हुने कुखुराको कारण किसान मर्कामा पर्न थालेपछि व्यवसायबाट पलायन हुन थालेका हुन्।
वास्तविक किसानले सरकारी अनुदान नपाउने, दाना, औषधि र चल्ला महङ्गो हुँदा पेशामा टिक्न मुस्किल भएको हो। कञ्चनपुरको वेलौरीमा नरेन्द्रप्रसाद रेग्मीसहित चार जनाले चार वर्ष अगाडि साझेदारीमा व्यावसायिक कुखुरा पालन गरे। व्यावसायिक कुखुरा पालन गर्न उनीहरूले ३९ लाख खर्च गरेका छन्। १२ लाखमा खोर निर्माण गरेका साझेदारहरूले २७ लाखमा कुखुरा, दाना र चल्ला ढुवानी गर्न गाडी खरिद गरे। कुखुरा व्यवसायबाट आम्दानी होला र सहकारीबाट लिएको ऋण सहजै तिर्ने जोशका साथ काम गरे पनि चार वर्षसम्म लागत पनि उठाउन नसक्दा गत वर्ष कुखुरा पाल्न छोडेर रोजगारी गर्न रेग्मी भारत पलायन भएका छन्।
कुखुराको दाना, औषधि र चल्ला महङ्गो हुने तर खोरमा बिक्रीका लागी कुखुरा तयार हुँदा बजार नपाउने समस्याले आजित भएर कुखुरा पाल्न छोडेर रेग्मी भारत गएका हुन्। यस्तै, चार वर्षदेखि कुखुरा पालन गर्दा लागेको ऋणको हिसावसम्म नगरेको धनगढीका कुखुरा पालक किसान केशव पाण्डेको भनाइ छ।
“चार वर्षसम्म कति घाटा खाइयो मैले हिसाब नै राखेको छैन,” उनले भने, ‘किसानलाई यो पेशामा नाफा छैन, ६० प्रतिशत किसान भारतबाट आउने कुखुराको कारण डुबेका छन्।’