धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले शहीदहरुको बलिदानीलाई उच्च मूल्याङ्कन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सपनालाई साकार बनाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेकाे बताएका छन् ।
शहीद दिवसको अवसरमा सोमबार सन्देश जारी गर्दै मुख्यमन्त्री रावलले राष्ट्र निर्माणका क्रममा ज्यानको आहुती दिने ज्ञात अज्ञात शहीदप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका सपना पूरा गर्न एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गरेका हुन् ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकेमा शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै रावलले जारी गरेको सन्देशमा भनेका छन्- ‘महान् शहीदहरुको त्यागद्धारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु।’