आयोजना सकिने बेला धनगढीको मुख्य सडक निर्माण कार्य सुरु

धनगढी। ठेक्का भएको दुई वर्षपछि बल्ल धनगढीको मुख्य सडक निर्माण कार्य सुरु भएको छ। कैलाली पुलदेखि पश्चिमतिर ट्राफिक चौराहासम्म बजार क्षेत्रको सडक निर्माणको काम थालिएको हो। यो सडक निर्माणका लागि दुई वर्ष अगाडि नै ठेक्का भए पनि अहिले मात्रै काम सुरु भएको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले जानकारी दिए।

एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा केही वर्षअगाडि नै यहाँ क्षेत्रीय सहरी विकास आयोजना लागू भएको थियो। आयोजनाको समयावधि सकिने बेला मात्रै कैलाली पुल–ट्राफिक चौराहा सडक निर्माणको कार्य सुरु भएको छ। गत डिसेम्बरमा यो आयोजनाको समयावधि सकिएको थियो। हाल छ महिनाका लागि अवधि थप भएको इन्जिनियर भट्टले बताए। सडक निर्माणको अवधि चार महिना रहेको उनको भनाइ छ।

उनका अनुसार यसअघि ठेक्का भएको १०.२ किलोमिटर सडक निर्माण प्याकेजअन्तर्गत नै यो सडकको काम हुनेछ। कैलाली पुलदेखि ट्राफिक चौराहासम्मको दूरी करिब १.५ किलोमिटर छ। दुवैतिर नालीसहित २४ मिटर फराकिलो सडक बन्ने छ। आयोजनाअन्तर्गत धनगढीका सातवटा सडक निर्माणका लागि ठेक्का भएको थियो। ठेक्का भएका अरू सडकको निर्माण कार्य चलिरहेकाे छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.