भूकम्प पिडीतलाई रहात दिन मुख्यमन्त्री रावलसँग माग

धनगढी । भूकम्पका पिडीतहरुकाे पुर्नस्थापना तथा रहात सहयाेगकालागि सुदूरपश्चिम प्रदेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलसँग माग गरिएकाे छ । मानवअधिकारका क्षेत्रमा कार्यरत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरुले शुक्रवार मुख्यमन्त्री रावलाई भेटेर पाँचबुदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

तीन महिनाअघि खप्तड केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्पले ६ जनाको मृत्यु भएको, ७ जना घाइते भएका, डोटी र बझाङ जिल्लामा उक्त भुकम्पले ५ सय घर पूर्ण क्षतिग्रस्त र ४ हजार ५ सय घरहरु चर्केको विषय सार्वजनिक भएको स्मरण गराउदै उनीहरुले भूकम्पले घर पूर्णरुपमा भत्किएपश्चात राहत तथा पूर्नस्थापनाको कार्य अपेक्षितरुपमा अघि बढ्न नसक्दा भूकम्प पीडितहरु विशेष गरी सुत्केरी, गर्भवती, बालबालिका, वृद्धवृद्धाहरु जोखमिमा रहेको बताएका थिए ।

प्रतिनिधि मण्डलले एकै त्रिपालमुनी धेरै परिवारहरु अझैसम्म बस्नुपरेको बाध्यता र सोकाकारण अनेकौं समस्या झेलिएको परिस्थितिलाई हेर्दा पिडीतहरुलाई तत्कालिन अवस्थामा त्रिपालमा राखिएता पनि अल्पकालिन र दीर्घकालिन समाधानको बाटोमा जान सरकार र सहयोगी निकायहरुवीच समन्वय र प्रभावकारी कार्यान्वयनको खाँचो रहेको ध्यानार्कष पत्रमा उल्लेख गरेका छन् ।

ध्यानार्कषण पत्र बुझ्दै मुख्यमन्त्री रावलले गरीब तथा निम्न वर्गको जीवनस्तर उथ्थानमा लागिपर्ने बताए । सरकारलाई पुर्णता दिन र बिश्वासको मत लिन बाँकी नै रहेको बताउँदै आफु जे जति दिन नेतृत्वमा रहेपनि सधैब गरीब पिडीत र निम्न वर्गको उथ्थानमा काम गर्ने प्रतिबद्धता गरे। उनले– ‘आफ्नो प्राथमिकता पढाइ, कमाइ, दबाइ उपलब्ध गर्ने तथा पानी, खानी र जवानी सदुपयोग गर्ने हुनेछ ।’

मुख्यमन्त्री रावलसँग ध्यानार्कषण पत्र बुझाउनेमा न्याय तथा अधिकार संस्था (जुरी–नेपाल)का कार्यकारी निर्देशक अधिवक्ता मोहनलाल आचाय, दलित महिला संघ (फेडो)का अध्यक्ष कला स्वर्णकार, सम बिकास केन्द्र (इडिसी) संस्थाका सदस्य रुक्मणि परियार, अपाङ्गता सहायता प्रतिष्ठानका अध्यक्ष भवानी ऐरलगायतका मानव अधिकारको क्षेत्रमा त्रियाशील सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.