धनगढी । पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन् । त्यसैले पश्चिम नेपालमा भूकम्पको अझै जोखिम रहेकाे उनीहरुकाे तर्क छ । डोटी र बाजुरामा गएका भूकम्पहरू सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा भूकम्प जाने ठूलो जोखिम भएको क्षेत्र हो । ‘अहिले भूकम्पीय गतिविधि दोहोरिँदा हामी विशेष रूपमा सजग हुनुपर्छ’, उनले भनिन । विसं २०७२ सालमा गोरखा जिल्लामा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका दरारहरू पोखराभन्दा पश्चिमतर्फ देखिएका थिएनन् । गोरखा भूकम्पबारे विद्यावारिधि गरेका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पश्चिम नेपालमा म्याग्निट्यूड ८ वा त्योभन्दा ठूलो महाभूकम्प जान सक्ने जोखिम छ ।
डोटी केन्द्रबिन्दु बनाएर भूकम्प गएको तीन महिना बित्न नपाउँदै पूरै सुदूरपश्चिम हल्लाउने गरी मंगलवार फेरि अर्को भूकम्प गएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का नेपालको पूर्वसम्मसहित भारतको दिल्लीसम्म महसुस गरिएको थियो । गत कात्तिक २३ गते ६.६ रेक्टर स्केलको भूकम्प जाँदा डोटीको पूर्वीचौकी गाउँपालिकाका छ जनाको ज्यान गएको थियो ।
मंगलबारको भूकम्पले पनि बाजुरामा एक महिलाको ज्यान लिएको छभने ठुलो भौतिक क्षति भएको छ। २५ घर भत्किएको विवरण आएको जिल्ला प्रहरी कार्यालय बजुराले जनाएकाे छ। भूकम्पले बझाङ जिल्ला सदरमुकाम चैनपुरस्थित कृषि ज्ञान केन्द्रको पुरानो भवन, जिल्ला अस्पताल सिमखेतको पुरानो भवन, दौलिचौर प्रहरी चौकीको भवनमा पूर्ण क्षतिपुगेको छ । भूकम्पले जयपृथ्वी नगरपालिका–४ गङखेतमा रहेको भवानी सामुदायिक विद्यालयको घर भत्काएको छ ।