डडेल्धुरा । गए रातिदेखि मौसममा बदली आएपछि डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशभर बर्षा भैइरहेकाे छ । वर्षा र हिमपातका कारण चिसो बढेको भएपनि लामाे समयपछि बर्षा भएकाले यहाँका कृषकहरु बाली सप्रिने आसमा हर्षित भएका छन् ।
बर्षासँगै यहाँका उच्च पहाडी भूभागमा हिउँ पर्न थालेकाे स्थानीयले बताएका छन् । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भैइरहेकाे सिगासका किसान दानसिंह बोहराले जानकारी दिए ।
यता सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड आसपासका क्षेत्रमा हिमपात भएको छ। हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ। सोमबार राति र मंगरबार सो क्षेत्रमा हिमपात भएको हो।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण त्यस क्षेत्रमा वर्षा र हिमपात भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार यी प्रदेशमा आज पनि हल्का वर्षा र हिमपातको अनुमान छ ।