कर्जा खाएर आन्दोलन गर्ने होइन, ब्याज तिर्नुहोस् : गभर्नर अधिकारी

काठमाडौ। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन्। शनिबार कृषि विकास बैङ्कको ५६ औँ वार्षिक साधारण सभामा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

बैङ्कबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै सङ्गठित रूपमा बैङ्कबाट लिएको कर्जा तिर्नुपर्दैन भन्नु अराजकताको माथिल्लो रूप भएको उनको भनाइ छ। उनले बैङ्कबाट कर्जा लिएर बैङ्कको कर्जा वा ब्याज नतिर्ने भन्दै सङ्गठित रूपमा दबाब दिन नमिल्ने बताए।

गभर्नर अधिकारीले पछिल्लो समय बैङ्क तथा समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौती देखिएको बताउदै बैङ्कको कर्जा सार्वजनिक सम्पत्ति र सर्वसाधारणको निक्षेप भएको उल्लेख गरे । उनले वाणिज्य बैङ्कको अधिकांश कर्जा सर्वसाधारणको निक्षेप भएको भन्दै कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताए।

व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्ने स्वीकार गरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने दाबी गर्दै गभर्नर अधिकारीले अराजक कुरालाई कसैले पनि प्रश्रय दिन नहुने र राष्ट्र बैङ्क यो विषयमा सतर्क र सजग रहेको बताए। यस्ता चुनौतीले समग्र बैङ्किङ प्रणाली, अर्थतन्त्रमा ठूलो असन्तुलन र अस्त व्यस्त ल्याउने उनकाे भनाई छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.