‘टीकापुर घटना राजनीतिक पहिचानकाे हाे, मुद्दा खारेजी हुनुपर्छ’

धनगढी। थारु समुदायबाट प्रतिनिधित्व गर्नु हुने सुदूरपश्चिम प्रदेश सभाका सदस्यले आफ्नो समुदायको साझा मुद्दा प्रदेश सदनमा उठाउने प्रतिबद्धता जनाएका छन्। थारु कल्याणकारिणी सभा लगायत १४ वटा जातीय सङ्घ, संस्थाले शनिबार धनगढीमा आयोजना गरेको बधाइ तथा शुभकामना ज्ञापन कार्यक्रममा उनीहरूले साझा मुद्दाबारे सदनमा आवाज बुलन्द पार्ने प्रतिबद्धता जनाएका हुन्। 

नागरिक उन्मुक्ति पार्टीको प्रमुख सचेतकसमेत रहेका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले अब सडकमा नभई थारु समुदायको आवाज सदनमा बुलन्द पार्ने बताए। उनले टीकापुर घटनापछि राज्यले थारु समुदायलाई जबरजस्ती अपराधी बनाउने कार्य गरेको भन्दै अगाडि थपे,‘कुनै पनि समुदायलाई एकतर्फी पेलेर विकासको कल्पना गर्न सकिन्न।’ टीकापुर घटना राजनीतिक रहेकाले मुद्दा खारेजी हुनुपर्ने आफ्नो पार्टीको जोड रहेको उनको भनाइ थियो। 

राज्यले नीतिगत रूपमा थारुमाथि विभेद गर्ने कार्य गरिरहेको भन्दै चौधरीले नीति निर्माण गर्ने ठाउँमा आफूहरू पुगेकाले सुधारका लागि प्रयत्न गर्ने भन्दै ‘हामी राजनीतिमा लाग्नु नै एउटा विद्रोह हो’, चौधरीले भने,‘अब हाम्रो समुदायको आवाज प्रदेश र प्रतिनिधि सभामा बुलन्द हुन्छ । यसैगरी, प्रदेश सभा सदस्य कोइलीदेवी चौधरीले थारुहरू जुनसुकै पार्टीमा भए पनि थारु समुदायको साझा मुद्दामा एक रहेको बताइन्। ‘जनताले हामीलाई जुन उद्देश्य लिएर पठाएका छन्, त्यसका लागि हामी तत्पर छौँ’, उनले भनिन् । 

कार्यक्रममा थारु समुदायको १२ बुँदे साझा मुद्दा प्रदेश सभा सदस्यहरूलाई हस्तान्तरण गरिएको छ। प्रतिनिधि सभा सदस्यहरूको कार्यक्रममा अनुपस्थिति भएकाले प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीमार्फत उनीहरूलाई पनि माग, मुद्दा हस्तान्तरण गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.