धनगढी। कैलाली प्रहरीलाई महिनावारी रकम बुझाएर खुलेयाम भारतबाट अबैध तस्करी गर्ने गरेको आरोप सहित २० जनाको नाम लिस्ट राखेर पत्रकार महासंघ कैलालीमा उजुरी परेको छ । सामाजिक अभियन्ता नामबाट हुलाक मार्फत पठाइएको निवेदनमा छानविन गरी आवश्यक कारवाही गराईदिन माग गरिएकाे छ ।
सोमबार पत्रकार महासंघ कैलालीमा सो निवेदन हुलाक मार्फत पुगेको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए । पठाउनेमा सामाजिक अभियन्ताको नाम उल्लेख गरिएको उनले बताए । उजुरी पत्रमा भनिएकाे छ- ‘तस्करलाई प्रहरीका घुमुवाहरुले संरक्षण दिएको हुनाले कैलालीका सम्पुर्ण नाकाहरुबाट बिभिन्न चोरी तस्करीका समानहरु भित्र्याउनमा प्रहरी नायब निरिक्षक सुनिल चन्द र नन्दराज भट्टले कैलालीका सबै नाकाबाट अशुली धन्दा शुरु गरी कार्यालय प्रमुखहरुलाई पनि कुनै जानकारी नदिई गुमराहमा राखेको र निजमाथी छानबिन गरी आवश्यक कारवाही होस भनी यो पत्र पेश गरेका छौँ ।’
तस्करी गरेर महिनावारी प्रहरीलाई रकम बुझाउने गरेको पत्र पत्रकार महासंघ कैलालीमै पुगेपछि महासंघले गम्भिरता पुर्वक लिएको महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए । महासंघले पत्र आइसकेपछि निश्पक्ष छानबिन गरी दोषी उपर कार्वाही हुनुपर्ने माग राखेको छ । प्रहरीलाइनै आरोप लागिसकेपछि वास्तविकता आउनुपर्ने अध्यक्ष जोशीले बताए । पत्रकार महासंघमा आएको उजुरीलाई गम्भिरताका साथ लिएर अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्र बहादुर पालले बताए । उनले भने “यसको गहिराइमा हामी जान्छौँ सम्बन्धित ब्यक्तिहरुलाई सोधपुछ गर्छौँ र अनुसन्धानबाट दोशी ठहरिए कार्वाही गर्नेछौँ ।”
पत्रकार महासंघ कैलालीमा आएको निवेदन लिस्ट