निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले मंगलवार बिहान नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छन् । निजी क्षेत्रको दुवै संस्थाले गरेको छुट्टा–छुट्टै भेटमा अर्थतन्त्रको अवस्था कमजोर हुँदै गएकोले सुधारको लागि आवश्यक पहल गर्न माग गरेका हुन् ।
निजी क्षेत्रले नेपाल राष्ट्र बैंकले कात्तिकदेखि लागू गरेको चालू पुँजी कर्जा कम्तिमा २ वर्षलाई स्थगन गर्न माग गरेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रकोतर्फबाट अर्थतन्त्रको अवस्था सुधार गर्न आवश्यक पहल गरिदिन माग गरे । गोल्छाले प्रधानमन्त्री आफैँ मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार भएको भन्दै महासंघले पनि यसअघि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको स्मरण गराए ।
अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालूपूँजी कर्जा मार्ग निर्देशन कम्तिमा दुई वर्ष स्थगन गर्न माग गरे । उनले हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव दिए । यतिखेर अरू कुराभन्दा पनि मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिए ।
अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेको बताए । उनले त्यसको अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरे ।