नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण आज हुने भएको छ । आज दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई हिजो प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रचण्डले १ सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
प्रचण्डलाई माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहको समर्थन छ । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि १ सय ३८ सांसद आवश्यक पर्नेमा प्रचण्डलाई १ सय ६९ सांसदको समर्थन रहेको छ ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई नेपालमा रहेकाे चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो । प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत् बधाई दिनुभएको हो।
दुवै राजदूतले माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई दिँदै उहाँको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताउनुभएको थियो । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत् ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ भन्नुभएकाे छ ।
भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री प्रचण्डको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्याउने बताउनुभएको छ ।