‘प्रचण्डलाई कांग्रेसवाट धोका भयो’-पाैडेल, आखिर कसरी चुके देउवा ?

काठमाडौं । आइतबार दिनभर भएको राजनीतिक दौडधुपले गर्दा नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ। एमाले र माओवादी केन्द्रसहित सात ओटा दलहरुहरुको बीचमा भएको सहमति अनुरुप प्रस्तुत दाबी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।

मंसिर ४ को निर्वाचनमा सबैभन्दा ठूलो दल भएको नेपाली काग्रेस अन्तिममा सुझबुझ देखाउन नसक्दा नयाँ सरकार बनाउनबाट वञ्चित भएको छ। प्रधानमन्त्रीमा दोहोरिने प्रयत्नमा रहेका शेरबहादुर देउवा पनि मुखमै आएको पद गुमाउन बाध्य भएका छन्।सत्ता गठबन्धनमा प्रमुखकाे जिम्मेवारी रहेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाब पश्चात प्रचण्डलाई कांग्रेसवाट धाेका भएकाे बताएका छन् । नयाँ सरकार गठनकालागि माओवादीसँग संवादमै रहेका कांग्रेस नेता पौडेलले प्रचण्डसँग भएको सहमतिलाई देउवाले तोडेर गल्ती गरेको टिप्पणी गरेका हुन्।

उनले नेपाल भने, ‘प्रचण्डले कांग्रेसवाट धोका भयो भनेर जानुभयो। त्यसमा केही हदसम्म सत्यता देखिन्छ।’ देउवालाई प्रधानमन्त्री बनाउने बेलामै निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा भएको पौडेलले खुलासा गरे। ‘त्यतिबेलाको सहमति कार्यान्वयन भएन भन्ने प्रचण्डको भनाइ थियो’, उनले भने, ‘उहाँ त्यसपछि अन्य विकल्पतिर लाग्नुभयो।’

आखिर देउवा कसरी चुके?

देउवाको दूतको रुपमा पछिल्लो समयमा संवादमा खटिएका नेताहरु बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र पार्टी उपसभापति पूर्णबहादुर खड्का आइतबारको नाटकीय राजनीतिक परिणामपछि सञ्चार माध्यमहरुसँग सम्पर्कमा आउन चाहेका छैनन्। यद्यपि देउवा आइतबार दिउँसोसम्म पनि प्रधानमन्त्री बन्नेमा ढुक्क देखिएको नेताहरुको भनाइ थियो। यतिसम्म कि आइतबार बिहानको बैठकमा पनि प्रचण्डले देउवालाई आफ्नो गठबन्धन आफैं राख्नुस् भनेर हिँड्न थालेपछि पनि उनी ढुक्क मनस्थितिमै थिए। उनले बालकोटतर्फ लागेका प्रचण्डलाई त्यहाँ सहमति नभए पुन: यहीँ (बालुवाटार) आउनु भन्दै ब्यंग्यमिश्रित आग्रह गरेका थिए। अब  प्रचण्ड छिट्टै बालुवाटार फर्किने छन् तर देउवालाई नै विस्थापित गर्ने गरी। 

कांग्रेस  सभापति देउवा आफ्नै नेतृत्वमा गठबन्धन अगाडी वढाउने तर प्रधानमन्त्री र राष्ट्रपति दुवै पद आफुसंगै  राख्ने रणनीतिमा थिए । जसप्रति माओवादी सुरु  देखि असहमत थियो । काग्रेस र खासगरि सभापति देउवा र उनको पक्षको विश्लेषण थियो कि माओवादीलाई एमालेले साथ दिदैन त्यसो भएमा उनीसंग विकल्प हुदैन । यद्यपी यो विचमा एमालेका नेताहरु माओवादी अध्यक्ष प्रचण्डसंग लगातार संवादमा  थिए । तर देउवाको बुझाईमा एमालले माओवादीलाई गठबन्धन तोडन मात्रै प्रयोग गर्न खोजेको र प्रधानमन्त्री दिदैन भन्ने थियो । त्यसमा पनि शनिवार एमाले अध्यक्ष ओलीले एउटा कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले निर्णय गर्न ढिला गरेकाले अव प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा सार्वजनिक रुपमा गरिदिए । त्यस पछि देउवा र उनको पक्षका नेताहरु थप हौसिएका थिए । त्यही आडमा देउवाले शनिवार साझ ओलीसंग कुरा गर्न नेता बिमलेन्द्र निधिलाई बालकोट पठाए । श्रोतहरुका अनुसार ओलीले निधिलाई  आफुले माओवादीलाई प्रधानमन्त्री नदिने बताएका थिए  । निधिले  रातीनै ओलीको उक्त ब्रिफिंग  देउवाकहा पुर्याए । त्यस पछि देउवा आफुले लिईरहेको अडानमा अडिग रहने  निष्कर्षमा पुगे ।

आइतबार बिहानै कांग्रेस नेता निधि  माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न पुगे र कांग्रेसले  प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाड्ने अडान राखे । निधिसंगको संवादपछि बालुवाटार जानु अघि नै प्रचण्डले आफना केहि नेताहरुलाई एमाले अध्यक्ष ओलीकहाँ  पठाए । ओली निवासमा आफना केहि नेता पठाएर प्रचण्ड बालुवाटार गए र त्यहा उनले  प्रधानमन्त्री देउवासंग ”वान टु वान संवाद गरे । माओवादी निकट केहि नेताहरुका अनुसार प्रचण्डले त्याहा पनि प्रधानमन्त्री र राष्ट्रपति मध्ये एउटा पद रोज्न देउवालाई आग्रह गरेका थिए तर उनी मानेन । त्यस पछि गठबन्धनका अन्य नेताहरु भएको समेत जमघटमा प्रचण्डले अव गठबन्धन बालुवाटार मै विसाएर आफु लागे भनेर निस्किएका थिए ।

काग्रेस स्रोतका अनुसार काग्रेस संसदीय दलको निर्वाचनमा दलको नेतामा महामन्त्री थापा उम्मेदवार भए पछि र समर्थनमा शर्मा देखिए यता सभापति देउवाले महामन्त्री द्वयलाई  कुनै बैठकमा बोलाएनन् । यस वारेमा महामन्त्री थापा र शर्मा संग सम्पर्क गर्न चाह्दा  उनीहरु वोल्न चाहेनन्  । तर उनीहरु निकट स्रोतका अनुसार संसदीय दलको निर्वाचनमा देउवा निर्वाचित भए पछि उनीहरुलाई एकचोटी पनि सम्पर्क गरेका छैनन्  । बालुवाटार स्रोतका अनुसार सभापति देउवाले आफनो कोर समुह वाहेकका अन्य नेताहरुलाई पछिल्लो समयमा परिचालन गरेका थिएनन्  ।  

उनले ठीक रणनीति बनाउन नसकेको कतिपय नेताहरुको आरोप लगाएका छन् । यसबाहेक भूराजनीति लगायत पर्दा पछाडीका अन्य खेलाडीहरुको भूमिका विस्तारै खुल्दै जाने जानकारहरु बताउँछन्।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.