सुदूरपश्चिम प्रदेश सरकारले ४ सयलाई कृषि यन्त्रमा अनुदान दिँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले यो वर्ष करिव ४ सय किसानलाई कृषि यन्त्र खरिदमा अनुदान दिने भएको छ। प्रदेशका सबै जिल्लाका किसानलाई विभिन्न २८ किसिमका कृषि उपकरण प्रदान गर्न आवेदन संकलन गर्ने काम भइरहेको छ।

जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमा सम्बन्धित जिल्लाका किसानले कृषि यान्त्रीकरण अनुदानका लागि आवेदन पेश गर्न सक्ने प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ। प्रदेश सरकारले यो वर्ष कृषि यान्त्रीकरण अनुदानका लागि ३ करोड ४० लाख बजेट छुट्याएको छ। कृषि विकास निर्देशनालयबाट कृषि उपकरण खरिदमा ५० प्रतिशत अनुदान दिने सरकारको योजना छ। जसअनुसार गत कार्तिक ३० गते आवेदन पेश गर्न सूचना प्रकाशित गरिएको थियो।

जसका लागि बिहीबारसम्म जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत आवेदन लिने काम भइरहेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए।’ बजेट कृषि विकास निर्देशनालयको हो, कार्यान्वयन पनि उसैले गर्ने हो,’ उनले भने, ’निर्देशनालयमा जानुपर्दा किसानको बढी खर्च हुने भएकाले जिल्ला जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत निवेदन लिने काम भइरहेको छ।’

अनुदान प्राप्त गर्न व्यक्तिगत, कृषक समुह र उपभोक्ता समुहले दिएको निवेदनको मुल्यांकन गरेर किसानहरूलाई अनुदान उपलब्ध गराइने कृषि विकास निर्देशनालयका सूचना अधिकारी केशव पाण्डेले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.