धनगढी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक अर्काको सह–अस्तित्व स्विकारेर काम गर्नु नै विकासको मेरुदण्ड रहेको बताएका छन्। धनगढी उपमहानगरपालिकाले बुधबार आयोजना गरेको सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले काम गर्दा सबै तहका सरकारले एक अर्काको सह–अस्तित्वलाई स्विकार्नु पर्ने बताएका हुन्। सह अस्तित्वबाट समग्र विकासलाई टेवा दिन सकिने उनको भनाइ थियो।
‘हाम्रो संविधानले नै सहकार्य, सह–अस्तित्व र समन्वय हुनु पर्ने भनेको छ’, उनले भने, ‘त्यो कुराको ठिक तरिकाले बुझाइ भएन भने हामी विकासमा धेरै पछाडि रहने स्थिति रहन्छ।’ प्रदेश सरकारले सुरुवातदेखि नै स्थानीय तहसँग सहकार्य, साझेदारी गर्नु पर्दछ भनेर अगाडि बढेको मुख्यमन्त्रीले बताए। ‘एक अर्काको सह–अस्तित्व स्वीकार गरेर अगाडि बढ्नु पर्दछ। त्यो नै हाम्रो विकासको मोडल हो’, उनले भने।
साझेदारीमा गर्दा धेरै महत्त्वपूर्ण काम गर्न सकिने उल्लेख गर्नुहुँदै मुख्यमन्त्री भट्टले नागरिकसहितको विकासको साझेदारी आवश्यक रहेको बताए। विकाससँग नागरिकलाई जोडन नसकिए त्यहाँ अवरोध हुने र कामले गति लिन नसकी परिणाम नदेखिने गरेको मुख्यमन्त्रीको भनाइ थियो। उनले साझेदारीमा काम गर्ने गरी प्रदेश सरकारले नीति, कानुन बनाएको उल्लेख गर्दै उनले भने, ‘अब आउने सरकारले त्यसमा गर्व गरेर अगाडि बढ्ने विश्वास लिएका छौँ। उहाँहरू थप परिमार्जन गरेर अगाडि बढ्न सक्नुहुन्छ।’
सुदूरपश्चिम प्रदेश सरकारले यसअघि चाहँदा चाहँदै पनि धनगढी बजारको सडक बनाउन नसकेको भन्दै मुख्यमन्त्री भट्टले अहिले त्यसको काम सुरु हुनु राम्रो कार्य रहेको बताउदै भने ‘मेरै मन्त्रालय अगाडि भिडभाड हुन्छ। मान्छेले सडकमा चौपाया भएको फोटो हामीलाई पठाएर आलोचना गर्छन्’, उहाँले भन्नुभयो, ‘यो सब सुन्ने चाहना त थिएन। हामीलाई पनि लागिरहन्थ्यो धनगढीको सडक चाँडै बनाउन पाए हुन्थ्यो। तर, चाहँदा चाहँदै यस अगाडि सडक बनाउन सकिएन।’
पहाडी क्षेत्रमा एक्लै काम गर्न प्रदेश सरकारलाई सहज भए पनि सहरी क्षेत्रमा त्यस्तो अवस्था नरहेको मुख्यमन्त्रीको भनाइ थियो। उनले बजार क्षेत्रमा स्थानीय तहसँगको सहकार्यबिना काम हुन नसक्ने भन्दै यो सबै कुरा बुझेर धनगढी उपमहानगरपालिकासँग सहकार्य गरेर धनगढी बजारको सडक निर्माणमा सरकार अगाडि बढेको बताए। मुख्यमन्त्रीले भने,‘कुनै पनि अप्ठ्यारा बाधा बिना यहाँका नागरिकले बाटो खाली गरेर दिनु भएको छ। प्रदेश सरकारकोतर्फबाट म उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु।’ सडक बनाउने क्रममा धेरै ठाउँमा अवरोध हुने गरे पनि विकास खोजिरहेका यहाँको जनताका कारण धनगढीमा त्यस्ता केही पनि नभएको उनको भनाइ थियो।
जसरी प्रदेश सरकारले धनगढीकाे सडक बनाउदै छ यसैगरी, कैलाली नालामा पुल र आफ्नै पालामा धनगढी उपमहानगरपालिकालाई एम्बुलेन्स पनि दिइने मुख्यमन्त्रीको भनाइ थियो। अस्थायी राजधानी रहेको धनगढीको सडक फराकिलो बनाउनका लागि धनगढी उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले ६० करोड रुपियाँ बजेट विनियोजन गरेको छ। कैलाली पुलदेखि क्याम्पस रोडसम्म सडक अधिकार क्षेत्रभित्रका संरचना भत्काइएको छ।
संरचना हटाउने काम धनगढी उपमहानगरपालिकाले गरे पनि सडक बनाउने काम प्रदेश सरकारले गर्ने भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले बताए। उनले अबको १५ दिनभित्रै टेन्डर आह्वान गरेर काम अगाडि बढाइने प्रतिबद्धता जनाए। प्रदेश सरकारले पाँच वर्षमा गौरवका योजनाको काम अगाडि बढाउनुका साथै धेरै सडक, झोलुङ्गे पुल निर्माणको काम गरेको मन्त्री सोडारीको भनाइ थियो।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले मन्तव्य राखेका थिए।