धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले दार्चुलामा बलमिच्याई नगर्न भारतलाई आग्रह गरेका छन् । केही दिनयता दार्चुलाका स्थानीय बासिन्दा र भारत पक्षवीच विवाद बढ्दै गएपछि स्थानीय प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरी साेमबार मुख्यमन्त्री भट्टले यस्ताे आग्रह गरेका हुन् ।
सिमा क्षेत्रमा दुई देशकाे सहमति विना संरचना बनाएर अर्काे पक्षलाई असर पुराउने कार्य अन्तराष्ट्रिय कानून विपरित भएकाले भारतले एक पक्षरुपमा निर्माण गर्दै रहेकाे तटबन्ध राेक्नुपर्ने र त्यस सम्बन्धी अन्य विवादहरु कुटनीतिक हिसावले छलफल गरी समाधान खाेज्नुपर्ने मुख्यमन्त्री भट्टकाे भनाई थियाे ।
महाकाली नदीको धार परिवर्तनको कुरालाई लिएर विवाद चुलिएको छ। भारतीय पक्षले महाकाली नदीको धार नेपालतर्फ फर्काएर तटबन्धन गर्न खोजेपछि विवाद चुलिएको हो। जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने पुलको दक्षिण र उत्तरतर्फको भागमा भारतीय पक्षले पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध गर्न खोज्दा विवाद भएको स्थानीय प्रशासनले जनाएको छ।
पुलको उत्तरतर्फ पर्ने क्षेत्रमा तटबन्ध गर्ने विषयमा दुवै पक्षका प्राविधिकको अध्ययनपछि मात्र काम थाल्ने मौखिक समझदारी विपरीत भारतीय पक्षले काम गरेपछि आइतबार र सोमबार खलंगा क्षेत्र तनावग्रस्त बनेको थियो। सो क्रममा ढुङ्गामुढा हानाहान समेत भएको थियो भने केहीबेर नाका समेत बन्द गरिएको थियो। तर, अहिले पुल खुलाइएको छ।
सोही विषयलाई लिएर सोमबार भारतीय पक्षले महाकाली पुलमाथि आवतजावतमा रोक लगाएको भएपनि अहिले दुवै पक्षबीच छलफल गर्ने समझदारीपछि आवागमन खुलेकाे दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।