धनगढी। सीमाक्षेत्रमा हुँदै आएको अपराध नियन्त्रणका कुरालाई राजनीतिक दलले चुनावी मुद्दा बनाउन सकेका छैनन्। सामाजिक विकासका महत्त्वपूर्ण पक्षका रूपमा रहेको अपराध नियन्त्रण कार्यलाई दलले बेवास्ता गर्दै आएका छन्।
१०१ किलोमिटर नेपाल–भारत खुला सिमाना रहेको कैलालीमा सीमा अपराध रोकिएको छैन। लुटपाट, तस्करी, लागूऔषध ओसारपसारका घटना बढ्दो अवस्थामा छन्। तर यस्ता घटनालाई निरुत्साहित गर्नेखालको कुरालाई दलहरूले आ–आफ्ना घोषणापत्रमा स्थान दिएको पाइँदैन। घरदैलोका क्रममा पनि नेताले सीमा अपराध नियन्त्रणका कुरालाई उठाएको अहिलेसम्म नसुनिएको सीमावर्ती क्षेत्र टीकापुर नगरपालिका–७ बैदीका भोजराज ढुङ्गानाले बताए।
उनले भने, “अपराधलाई निरुत्साहित गर्ने भनेर चुनावको बेला नेताले बोलेको अहिलेसम्म त सुनिएको छैन तर केही पार्टीले लागूऔषध दुर्व्यसन नियन्त्रणका कुरालाई भने राखेको पाइएको छ।” कैलालीको दक्षिणी क्षेत्र लागूऔषध ओसारपसारका लागि ‘ट्रान्जिट प्वाइन्ट’ नै मानिन्छ। खक्रौला, कालाकुन्डा, भजनी, लालबोझी, हसुलिया, फूलबारी, बङ्गरा, त्रिनगरलगायतका नाका भएर भारतबाट लागूऔषध ओसारपसार हुँदै आएको बताइन्छ।
त्यतिमात्रै होइन, तस्करीदेखि लिएर लुटपाट, चोरीका घटना पनि बेलाबखत हुने गरेको छ। भारतबाट नेपाल पस्ने चोरले स्थानीयका राँगा, गोरु, बाख्रा, बयलगाडासहित विभिन्न सामान पनि चोरिने समस्या छ। स्थानीयले विगतदेखि भोग्दै आएका यस्ता समस्यालाई समाधानका लागि पहल कदमी भूमिका निर्वाह गर्ने कुरा दलहरूबाट नआउने गरेको कैलारी गाउँपालिका–७ का बुझौना चौधरीले बताए।