धनगढी । धनगढीको मुख्य बजार क्षेत्रको बाटो फराकिलो बनाउनका लागि सडक अधिकार क्षेत्रभित्र परेका संरचना भत्काउन सुरु गरिएको छ । चाडपर्व सकिएपछि धनगढी उपमहानगरपालिकाको कार्यालयले सडक अधिकार क्षेत्रभित्र परेका संरचना भत्काउन सुरु गरेको हो ।
उपमहानगरपालिकाले संरचना भत्काउने कार्यको सुरुवात बिहीबार सेती प्रादेशिक अस्पताल मातहत रहेका सटर भत्काएर गरेको थियो । सो कार्यालयले केही महिना अगाडि नै सार्वजनिक सूचना जारी गरेर बाटो विस्तारका लागि कैलाली पुलदेखि पूर्व क्याम्पस चौकसम्म सडक अधिकार क्षेत्रभित्रका संरचना भत्काउने अग्रिम जानकारी गराएको थियो । उपमहानगरपालिकाको कार्यालयले छठपछि संरचना भत्काइने भएकाले सामान अन्यत्र राख्नका लागि व्यापारी, घरधनीहरुलाई आग्रह गरेको थियो ।
नगरपालिकाको सूचनापछि केही व्यापारीले आफैँ पनि संरचना हटाएका थिए । तर नहटाइएका संरचनाहरु धनगढी उपमहानगरपालिकाको कार्यालयले हटाउन थालेको छ । पहिले सरकारी संरचना भत्काउँदा राम्रो सन्देश जाने भएकाले सडक अधिकार क्षेत्रभित्रका संरचना हटाउने कार्यको सुरुवात अस्पतालको सटर भत्काएर गरेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले बताए । ‘कैलाली पुलदेखि क्याम्पस चौकसम्मको बाटो सबै क्लियर गर्छौ’, उनले भने ।