धनगढी । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रवारदेखि सुरु भएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।
दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खिर (खरना) षष्ठी मातालाई चढाइ बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिकशुक्ल षष्ठीका दिन आज कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छठपूजा समिति धनगढीले जानकारी दिएको छ । कार्तिक शुक्ल सप्तमीका दिन भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
पहिला तराईको सीमित क्षेत्रमा मनाइने छठ अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रमा पनि धुमधामले मनाउन थालिएको छ । छठ पर्वका लागि धनगढीस्थित मोहाना नदी किनारमा सजावट गरिएको छ । छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यहि अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभकामना सन्देश व्यक्त गर्दै छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
उनले सन्देशमा भनेका छन् ‘छठ पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको र जसले शान्ति, सद्भाव र पवित्रता प्रवर्द्धन गर्ने गरेको छ।’ छठ धार्मिक एवम् सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उनको सन्देशमा उल्लेख छ ।