धनगढी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकालागि सुदूरपश्चिमका जिल्लाकाे मतपत्र छपाइ सकिएको छ। बुधबार प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ सकिएको र जिल्लामा पठाउने कार्य भैईरहेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।
आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले १ करोड २८ लाख ४९ हजार ५०० मतपत्र छपाइ भइसकेको जानकारी दिए। उनका अनुसार प्रदेशसभातर्फ ६४ लाख ३२ हजार ५०० र प्रतिनिधिसभातर्फ ६४ लाख १७ हजार मतपत्र छापिइसकेको हाे। निर्वाचनको लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन्। जसअनुसार प्रत्यक्षतर्फ करिब ४ करोड र समानुपातिकका लागि करिब ४ करोड मतपत्र आवश्यक पर्नेछ।
यसअघि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ। प्रदेशसभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ।
आयोगल बिहीबारदेखि सुदुरपश्चिम प्रदेशका जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी थालेको छ। कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुलालगायतका जिल्लामा मतपत्र ढुवानी भएको छ। बागमती, मधेस र प्रदेश नं १ का जिल्लामा भने यसअघि नै मतपत्र ढुवानी भइसकेको छ।