धनगढी । बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। गम्भीर घाइते ५० वर्षिया सिन्किदेवी भण्डारीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बझाङको केदारस्युँ ४ बाग्थलमा मृत्यु भएपछि मृतक संख्या ८ पुगेको हो।
घाइते संख्या १५ जना रहेका छन्। सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका-२ खेतकोट जाँदै गरेको सुपप्र ०१ ००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा मृत्यु हुनेमा मष्टा गाँउपालिका-२ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन्।
जिप दुर्घटना हुँदा घाइते भएका १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ४ जनालाई धनगढी रेफर गरिएको छ। घाइतेमध्ये मष्टा गाउँपालिका-१ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर रहेको बताइएको छ। ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रेफर गरिएको छ। दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्।
त्यस्तै घाइतेहरुमा मष्टा गाउँपालिका-२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनि धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय बिरबहादुर खड्का, मष्टा गाँउपालिका १ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीया ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीया सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए।
जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो। कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ। जिप सडकबाट ५ सय मिटर तल खोल्सामा खसेको थियो। ‘सडक एकदमै उकालो भएको र गाडीमा लोड बढी भएका कारण पछाडि सरेर भिरमा खसेको हो,’ प्रहरी नायब उपरिक्षक जागेश्वर भण्डारीले भने।