सुदूरपश्चिममा काँग्रेसले पाएको ९ सिटमा यी हुन् सम्भावित उम्मेदवार

सत्ता गठबन्धनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँट करिब टुङ्गिएको छ । पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये ८७ सिटमा उम्मेदवारी दिने भएको छ । बाँकी सिटमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दिने गरी गठबन्धनमा सहमति भएको छ ।

सहमति अनुसार अब कांग्रेसले सुदूरपश्चिमका ९ सिटमा पार्टीका उम्मेदवार छनोट गर्नुपर्ने चुनौती थपिएको छ । सुदूरपश्चिम प्रदेशमा देउवा दम्पतीमात्र एकल सिफारिस भएपनि आर्जु राणा देउवा समानुपातिकमा गएपछि कैलाली ५ मा नयाँ उम्मेदवार खाेज्न सकस परेकाे छ । यहाँबाट युवा नेता क्षितज भण्डारीले उम्मेदवारी घाेषणा गरिसकेका छन् । यद्दपि उनकाे उम्मेदवारी घाेषणालाई कैलाली काँग्रेसले अधिकारीकता नदिने जनाईसकेकाे छ । उता, कैलाली–१ मा केन्द्रीय सदस्य रामजनम चौधरीको सम्भावना बलियो छ । तर पार्टी कमिटीबाट टेकबहादुर धामीको नाम एक नम्बरमा सिफारिस भएको छ । यहाँ नृपबहादुर खड्का र बुद्धिसागर चौधरी पनि उम्मेदवारका आकांक्षी छन् ।

कैलाली–४ मा केन्द्रीय सदस्य नैनसिंह महरको नाम एक नम्बरमा सिफारिस भएर आएको छ । यहाँबाट प्रकाश बम, सुनिल भण्डारी लगायत ८ जनाको नाम सिफारिस भएको थियो । अहिले यहाँ सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरको चर्चा छ । डोटीमा एकीकृत समाजवादीका प्रेम आलेलाई छोडेर उनी कैलाली–४ मा झर्न खोजेको बताइन्छ । यहाँ महर र बलायरबीच उम्मेदवार हुन हानथाप चलिरहेको छ ।

बाजुरामा उम्मेदवार बन्न कांग्रेसका ७ जना सिफारिस भएका छन् जसमा पूर्व जिल्ला सभापति कविराज पण्डित एक नम्बरमा छन् । यहाँ सहमहामन्त्री बद्री पाण्डे पनि दाबेदार छन् । अछाम–२ मा चार जना नेताले उम्मेदवारीका लागि आकांक्षा देखाएका छन् । जिल्ला सभापति पुष्प शाह, नेता बलहादुर कुँवर, गणेशबहादुर विष्ट र रामबहादुर शाहीमध्ये बाटै अछाम–२ मा गठबन्धनको साझा उम्मेदवार तय हुने छ ।

दार्चुलामा चार जनाको नाम सिफारिस हुँदा उद्योगमन्त्री दिलेन्द्र बडूको नाम एक नम्बर सिफारिस भएर आएको छ । उनीबाहेक विक्रमसिंह धामी, जगदिसबहादुर पाल र गौरीशंकर गिरिको नाम पनि सिफारिस भएको छ । गठबन्धनको साझा उम्मेदवार भने मन्त्री बडू नै बन्ने बुझिएको छ । डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनको उम्मेदवार हुने निश्चित छ । पार्टीका मातहत कमिटीबाट पनि देउवाको नाम एकल सिफारिस भएको छ ।

कञ्चनपुर–२ मा कांग्रेसका प्रभावशाली नेता एनपी साउद उम्मेदवार हुने पक्काजस्तै छ । तर पार्टीको मातहत कमिटीबाट हरिप्रसाद बोहरा र प्रेमबहादुर बलायरको नाम पनि सिफारिस भएको छ । यस्तै कञ्चनपुर–३ मा नेता रमेश लेखकको पनि उम्मेदवारी हुनेमा द्विविधा छैन । यद्यपि पार्टी कमिटीबाट प्रेमबहादुर विष्टको नाम पनि सिफारिस भएर आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.