Dashain Suvakamana

सुदूरपश्चिममा चाडपर्व सुरक्षा व्यवस्था कडा, पाँच हजार प्रहरी परिचालन

धनगढी । दसैँ–तिहार र छठलाई लक्षित गर्दै सुदूरपश्चिममा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। चोरी, लुटपाट, ठगीदेखि सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न प्रदेशभर झन्डै पाँच हजार प्रहरी परिचालन गरिएको छ। प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र नेपालले चाडपर्वमा यात्रुको चाप र बजारमा भीडभाड बढ्ने भएकाले प्रदेशभर ११ सयभन्दा बढी स्थानमा प्रहरी ड्युटीको व्यवस्था मिलाइएको जानकारी दिए।

उनले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याइएको बताए। सुरक्षा योजनाअनुसार बसपार्क, राजमार्ग, बजार, बैंक तथा वित्तीय संस्था र सीमा नाकामा नियमित गस्ती तथा आकस्मिक चेकजाँच भइरहेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक महेन्द्र नेपालले सम्भावित जोखिमका आधारमा प्रहरी परिचालन गरी नागरिकको सुरक्षा र सहज आवागमनलाई प्राथमिकता दिएको बताए।

उनका अनुसार भारतबाट फर्किने यात्रुको चापलाई ध्यानमा राख्दै सीमा नाकामा निगरानी बढाइएको छ। त्यस्तै, यात्रु सहायता कक्ष, कमान्ड पोस्ट र सर्च अप्रेसनमार्फत सुरक्षा निगरानी प्रभावकारी बनाउने प्रहरीको योजना छ। तालिमप्राप्त कुकुरमार्फत पनि चेकजाँच भइरहेको प्रदेश प्रहरीले जनाएको छ।

प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको कैलालीमा चाडपर्वको सुरक्षाका लागि एक हजार १४६ प्रहरी परिचालन गरिएको छ। मोबाइल तथा पैदल गस्ती, सादा पोसाकका प्रहरी, क्विक रेस्पोन्स टिम (क्यूआरटी) र स्ट्राइकिङ टोलीलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चाडपर्वमा घर तथा पसल लामो समय खाली हुन सक्ने भएकाले प्रहरीले ढोका–झ्याल सुरक्षित राख्न, छिमेकीलाई जानकारी दिन र बहुमूल्य सामानको सुरक्षा गर्न आग्रह पनि गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.