धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने बैठक बहिष्कार गरेका दुई सांसदलाई स्पष्टीकरण सोधेको छ। साथै, सामाजिक विकास समिति सभापति धर्मराज पाठकलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ। पाठकलाई समिती सभापतिबाट झिकिएको पत्र सभामुख भिमबहादुर भण्डारीसमक्ष पुगिसकेको छ ।
सुदूरपश्चिम प्रदेशसभामा आइतबार प्रस्तुत भएको बजेट मंगलबार पारित गर्ने कार्यसूची थियो। एमालेले आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन, बजेटको पक्षमा मतदान गर्न र तटस्थ नबस्न ह्विप जारी गरेको थियो। तर, ह्विप उल्लङ्घन गर्दै बैठकमा अनुपस्थित भएका पूर्वमन्त्री वीरबहादुर थापा र सामाजिक विकास समिति सभापति पाठकलाई एमालेले ४८ घण्टे स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ।
बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गर्ने एमाले संसदीय दलको बैठकसमेत पाठकले बहिष्कार गरेका थिए। थापा भने प्रदेशसभा बैठकमा उपस्थित भए पनि हाजिर गरेका थिएनन्। मंगलबार विवादका बीच बजेट पारित भएपछि थापाले प्रदेशसभा बैठक बहिष्कार गर्नुका साथै प्रदेशसभा सदस्य पदबाट राजीनामासमेत दिएका छन्। एमालेले स्पष्टीकरण पत्रमार्फत उनलाई राजीनामा फिर्ता लिन आह्वान गरेको छ।
