धनगढी । सुदूरपश्चिममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले जनही एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश विपत् कार्य समितिको बैठकले मृतकका परिवारलाई एक लाख रुपियाँ र क्रियाखर्च २० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
सोमबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको बिपत कार्य समितिको बैठकले सो निर्णय गर्दै घर क्षति भएका परिवारलाई जनही ५० हजार रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणवहादुर रावलले जानकारी दिए । यस्तै, पछिल्लो समय डेंगुकोसमेत प्रकोप बढेकाले सोको नियन्त्रणका लागि १० लाख रुपियाँ बराबरको झुल खरिद गरी पीडितलाई वितरण गर्ने प्रदेश सरकारले जनाएको छ ।
त्यसैगरी १०–१० लाखको म्याट र त्रिपाल खरिद गर्ने निर्णय पनि गरेको छ । पीडितलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराउन एक करोड रुपियाँ स्थानीय तहलाई दिने निर्णय समेत भएको मन्त्री रावलले जानकारी दिए । सुदूरपश्चिममा गत शुक्रबार आएको बाढी पहिरोमा परी २६ जनाको मृत्यु भएको थियो । अछाममा २३ जना र कैलालीमा तीन जनाको मृत्यु भएकाे थियाे ।
बाढी र पहिरोमा परी तीन जिल्लाका चार हजार पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कैलालीमा चार हजार ५० परिवार, कञ्चनपुरका चार सय २० र अछाममा ३४ परिवार विस्थापित भएको तथ्याङ्क छ ।