सुदूरपश्चिम।सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन्। जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका एक सय ७९ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ। उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेङ्गुका बिरामी देखापरेको छ। यसैगरी, डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेङ्गु देखापरेको छ।
‘स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने कार्य गरेको छ’, उनले भने, ‘आवश्यक जाँचका लागि किट उपलब्ध गराउने कार्य गरिरहेको छ। पहाडीसहित तराईका जिल्लामा जनचेतना फैलाउने कार्यसँगै डेङ्गु सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको छ।’
उनका अनुसार डेङ्गुको सङ्क्रमण जेठदेखि असोजसम्म बढी देखिने गरेको छ। त्यसपछि विस्तारै घट्दै जान्छ। दुई(तीन वर्षअघिदेखि मात्रै डेङ्गुको सङ्क्रमणबाट बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ। त्यसअघि डेङ्गुको सङ्क्रमण सुदूरपश्चिममा निकै कम थियो ।