पाटन नगरपालिकाको मनपरी कर: आलुमा सय, खसीमा दुई सय
बैतडी । स्थानीय तहको सरकारले बाटै पिच्छे ढाट राखेर खसी, आलु र तरकारी बेच्दा मनपरि कर लिन थालेका छन् । बैतडीको पाटन नगरपालिकाले अनारखोली सडकमा निकासी कर लिन ढाट राखेर एउटा खसीको दुईसय रुपियाँ र आर्गनिक आलुमा प्रति क्विन्टल एकसय रुपियाँ कर लिन थालेपछि किसान मर्कामा परेका छन् ।
बिहीबार ४० क्विन्टल आलु बेच्दा चार हजार रुपियाँ कर तिर्नु परेको पाटन नगरपालिका–९, का किसान मोहन बिजलेले पीडा सुनाउदै भने, “खसीको दुई सय रुपियाँ कर लिने गरेका छन् । आर्गनिक आलुको प्रति क्विन्टल एकसय रुपियाँ, मह र घ्यूमा बेच्दा प्रति किलो पाँच रुपियाँ कर लिने गरेको छ ।
बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रभित्रको मात्रै होईन, बझाङबाट बैतडीको अनारखोली हुँदै धनढी जादै गरेको ८० क्विन्टल आलुको आठ हजार रुपियाँ कर लिएको तथ्य फेला परेको छ । त्यसै गरि दोगडाकेदार गाउँपालिकाले सिल्लेगडा सडकमा ढाट राखेर कृषि उपजमा कर लिदैं आईरहेको छ । यस अघि पञ्चेश्वर गाउँपालिकाले छिमेकी शिवनाथ गाउँपालिकामा बिक्रि भएको खसीको एक सय रुपियाँ कर लिएको किसानले गुनासो गरेका छन् । यसरी स्थानीय सरकारले कृषि उपजमा ढाड सेक्ने गरि निकासी कर लिएपछि किसान असन्तुष्ट बनेका छन् ।
बझाङबाट धनगढी निकासी हुँदै गरेको ८० क्विन्टल आलुको पाटन नगरपलिकाले आठ हजार रुपियाँ कर लिएको सुन्दा अचम्म लागेको कृषि ज्ञानकेन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर बिष्टले बताए । उनले भने बझाङको ४० टन आलु काठमाडौं पठाउने तयारी गर्दै छौं । स्थानीय सरकारले यसरी नै कर लियो भने त चार लाख रुपियाँ बाटोमै सकिने भयो । यस्तो चर्को करको दर हेरफेर गर्नु पर्छ । तरकारीमा कर नलिएन पनि हुन्छ । योत सडेर जाने चिज हो नि ?”
नगरपालिकाले खसी, तरकारी लगायत कृषि उपजमा चर्को कर लिएको विषयमा पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले अघिल्लो स्थानीय सरकारले राजपत्रमै प्रकाशित गरेर करको दर निर्धारण गरेकाले तुरुन्तै हेरफेर गर्न सकिने सम्भावना नभएको बताए भनेर आजकाे गाेरखापत्रमा समाचार छ ।