कैलालीकाे पूर्वीक्षेत्रमा रुघाखोकी र ज्वरोको प्रकोप

धनगढी । टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो । बच्चा बिरामी भएपछि बच्चालाई निको हुन छ दिन लाग्यो । ज्वरो सञ्चो भए पनि खोकी एक साताभन्दा बढी समयसम्म लागिराख्यो । बच्चासँगै बच्चाका आमा, घरका अन्य परिवारलाई पनि यस्तै समस्या भयो ।

टीकापुरस्थित विजयनगर सहरी स्वास्थ्य केन्द्रमा आजभोलि बिरामी दोब्बरले बढेका छन् । स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीको समस्या भएका बिरामी बढी आउने गरेका र बिरामी भएर आउनेमा परिवारका पूरै सदस्य बिरामी भएकासमेत धेरै रहेका सहरी स्वास्थ्य केन्द्रका इञ्चार्ज उषा शाह बताए।

टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी बढेका छन् । उता मनिकापुर सहरी स्वास्थ केन्द्रमा पनि आजभोलि बिरामी बढेका छन् । स्वास्थ्यकर्मी कविता खड्काले विगतका तुलनामा बिरामी बढी आएका, बिरामीमा कोभिडका लक्षण धेरै मिल्ने गरेका बताईन् । सत्ती सहरी स्वास्थ्य केन्द्रमा समेत यस्तै समस्या भएका बिरामी बढेका स्वास्थ्यकर्मी गोविन्द कठायत बताउद्छन् । स्वास्थ्य संस्थामा विगतभन्दा दोब्बर बिरामी बढेका उनकाे भनाई छ । उपचारमा आउने सबैमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका छन् ।

कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ । “विगतका वर्ष यो सिजनमा दैनिक ३५ जनासम्म बिरामी आउनुहुन्थ्यो, यस वर्ष दैनिक ६० जनासम्म बिरामी हेरिरहेका छौँ”, शाह भन्छन्, “बिरामी एकै घरका बालबच्चादेखि वृद्धसम्म बिरामी भएर आउनुभएको छ ।”

“बिरामी धेरैमा कोभिड–१९ सँग मिल्दा लक्षण छन्, बिरामी अधिकांशमा लक्षण मिल्दा छन्”, उनले भने “तर खोप लगाइसकेका छौँ भनेर मानिस ढुक्क छन् । हामीले बिरामीलाई स्वास्थ्य स्याहार गर्न सल्लाह दिइरहेका छौँ ।” उता धनसिंहपुर स्वास्थ्यचौकीमा पनि बर्सात सुरु भएपछि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका धनसिंहपुर स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.