काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच पार्टी एकता गर्ने सहमति भएको छ । विभिन्न चरणमा दुई नेताबीच भएका छलफलमा मिलेर जाने सहमति भएको हो । यद्यपी पार्टी एकताको औपचारिक घोषणा भने चुनावपछि गर्ने सहमति भएको छ ।
एकीकृत पार्टीको नाम तथा केही वैचारिक विषय मिल्न बाँकी रहेकाले चुनावमा मिलेर जाने र पछि एकता घोषणा गर्ने तयारी भएको नेताहरूले बताएका छन् । चुनावको मुखमा पार्टीको नाम परिवर्तन गर्दा गतिलो सन्देश नजाने सुझाव आएपछि एकता घोषणा गर्नेगरी अहिले एउटै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जाने सहमति बनेको बताइएको छ ।
दुई नेताबीच एउटै घोषणा पत्र, साझा समानुपातिक सूची र एउटै चिन्ह लिएर चुनावी मैदानमा उत्रने सहमति भएको छ । यो सहमतिलाई माओवादी केन्द्रको स्थायी समिति बैठकबाट अनुमोदन हुन भने बाँकी छ । यद्यपि, प्रचण्डले यसबारे पार्टीका अधिकांश शीर्ष नेतालाई ब्रिफिङ गरिसकेका छन् ।
सहमतिअनुसार सम्भवत: सोमबार दुवै दल संयुक्तरूपमा निर्वाचन आयोग पुग्नेछन् । आयोगले दल दर्तासम्बन्धी सूचनामा दुई वा सोभन्दा बढी दल एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने उल्लेख छ । तर, त्यसको सुचना भने दल दर्ता गर्ने बेलामै आयोगलाई गराउनुपर्नेछ । सोहीअनुसार दुई दलले संयुक्त रूपमा आयोग पुगेर एकल चुनाव चिन्ह लिई चुनावमा भाग लिन लागेको निवेदन पेश गर्नेछन् ।
माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया-हथौडा र समाजवादीको आँखा छ । साझा चुनाव चिन्ह हँसिया-हथौडा हुने बताइएको छ ।