धनगढी । ऐन कानून तथा विधेयक बनाउनमा सबै प्रदेश सरकार भन्दा अगाडी देखिएकाे सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात ब्यवस्था गर्न नयाँ कानून बनाउदै छ । जस अनुसार प्रदेश सरकारकाे आईतवार बसेकाे मन्त्रीपरिषद बैठकले प्रदेश सवारी तथा यातायात ब्यवस्था विधेयककाे मसाैदालाई स्वीकृत गरेकाे छ ।
बैठकपछि निर्णयबारे जानकारी दिंदै सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणवहादुर रावलले प्रदेशमा आधुनिक र बैज्ञानिक तवरले सवारी तथा यातायात ब्यवस्था गर्न लागेकाे बताए । उनका अनुसार बैठकले दार्चुला जिल्लास्थित नाैगाड गाउँपालिकाकाे वडा विभाजन सम्बन्धमा छलफल गरेकाे र गाउँकार्यपालिकाकाे निर्णयलाई संघीय सरकारमा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेकाे छ ।
यस्तै बैठकले कानून सुधार तथा सुझाव समितिका सदस्य नियुक्ति गर्ने र सभामुख अर्जुन वहादुर थापा लगायतका आधा दर्जन संसदहरुकाे उपचार खर्च वाफतकाे रकम भुक्तानी दिने निर्णय गरेकाे छ ।