काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्। शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन्।
सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचार आएको भन्दै उनले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गरे। अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको प्रष्ट पार्दै भने- ‘चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा छलफल चलेको हाे।’
अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने बताउदै गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने उल्लेख गरे। गठबन्धनबाटै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने र नयाँ परिस्थिति बनाउने उनको भनाइ छ।
अध्यक्ष दाहालले पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई ल्याएर करको दर हेरफेर नगरेको प्रमाणित भएको बताउदै संसदीय विशेष छानबिन समितिको रिपोर्टले शर्मालाई निर्दोष देखाएको बताए।