धनगढी । जिल्ला अदालत दार्चुलामा पीडितहरुको बयानका अनुसार निर्दोष साबित भएका एक अभियुक्तलाई सर्वोच्च अदालतले ४ वर्ष कैद सजायको फैसला सुनाएको छ। जिल्लाको दुहुँ गाउँपालिका–२ घर भएका अभियुक्त मान सिंह बडाललाई सर्वोच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउदै ४ वर्ष कैद फैसला गरेको हो।
२०७१ साल वैशाख २० गते गाउँकै कुकुरेगाड खोलामा घट्ट पिस्न गएका साबिकको हुति गाविसका किशोरीमाथी बडालका अन्य दुईजना साथीहरुले जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए। सोही आरोपमा एक नाबालिगसहित तीनै जनाविरुद्ध पिठो पिस्न आएका किशोरीहरुले सामूहिक रुपमा जबरजस्ती करणीको प्रयास गरेको आरोप लागाएका थिए।
सामूहिक रुपमा जबरजस्ती करणी गर्ने प्रयास गरेको अभियोगमा २०७१ वैशाख २५ गते दार्चुला जिल्ला अदालतमा पीडित पक्षले उजुरी गरेको थियो। उक्त मुद्दा जिल्ला अदालत दार्चुलामा १ वर्षसम्म चल्यो। पीडितहरुको बयानका आधारमा जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले बडाललाई सफाई दिएको र अर्का अभियुक्तलाई नाबालक भनी सफाइ दिएको थियो। त्यस्तै अर्का एक अभियुक्तलाई ९ वर्ष जेल सजायको फैसला सुनाइएको थियो।