धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको धनगढीमा थप ५० शय्याको कोरोना अस्पताल निर्माण सुरु गरिएको छ । कोरोना सङ्क्रमित बढिरहेपछि उपचारमा समस्या नहाेस् भनेर ५० शय्याको कोरोना अस्पताल निर्माण सुरु गरेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए ।
कोरोना भाइरसको बढ्दो जोखिमलाई ध्यानमा राख्दै चालू आर्थिक वर्ष अगावै निर्माण कार्य पूरा गर्ने लक्ष्यसहित सोमबार काेराेना अस्पतालको शिलान्यास गरिएकाे हाे ।
धनगढी उपमहानगरपालिका–१ स्थित कोरोना अस्पतालकै छेउमा थप ५० शय्याको अस्पतालको निर्माण सुरु गरिएको हो ।यस अघि पनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका विरामीको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठमा धनगढीमा ५० शैयाको अस्थायी कोरोना अस्पताल स्थापना गरेको थियाे।