सुदूरपश्चिम प्रदेशसभामा अझै सुरु भएन बजेटमाथिको छलफल

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको तीन साता बित्दा पनि बजेटमाथि प्रदेश सभामा छलफल सुरु हुन सकेको छैन । बजेटलाई लिएर सत्तापक्षीय र विपक्षी दलभित्रै चर्को असन्तुष्टि देखिएपछि संसद् बैठक नै बसेको छैन ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षकै सांसदले बजेट संशोधन हुनुपर्ने अडान राखेपछि र विपक्षी दल उपस्थित नहुँदा बजेटमाथिको छलफलका लागि बोलाइएका संसद्का तीनवटा बैठक स्थगित भएका छन् । पछिल्लो बैठक पनि स्थगित भएपछि संसद् सचिवालयले संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको सूचना जारी गरेको छ ।

बैठक स्थगित गरेर सरकारले सत्तापक्षकै असन्तुष्ट सांसदहरूलाई मनाउन छलफल गरिरहेको कांग्रेस संसदीय दलका सचेतक डिल्लीराज पन्तले बताए । बजेटमाथिको छलफल ढिलो भएको उनले बताए । कतिपय योजना दोहोरो परेको, कतिपय सम्पन्न भएका योजनामा पनि बजेट गएको र एउटा मन्त्रालयको योजना अर्को मन्त्रालयका नाममा परेकाले बजेट सच्याउनुपर्ने माग आफूहरूको रहेको उनले बताए ।

मुख्यमन्त्री त्रिलोचन भट्टसहित माओवादी केन्द्रका केही सांसद पार्टीको केन्द्रीय समिति बैठकका लागि अहिले काठमाडौंमा छन् । कांग्रेस र एकीकृत समाजवादीका केही मन्त्री र सांसद पनि बाहिर रहेकाले संसद् बैठक चल्न नसकेकाे र अवकाे दुई–तीन दिनमा बैठक सुचारु हुने बताइएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.