काठमाडौं । लामाे समयपछि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आईतवार बिहान ११ बजेदेखि कमलादीस्थित प्रज्ञा भवनमा बसेको नेकपा माओवादी केन्द्रको बैठक सञ्चालन शैली भने फेरिएको छ ।
यसअघिका केन्द्रीय समिति बैठकमा अध्यक्षले राजनीतिक प्रस्ताव लम्बेतान पेश गर्ने र त्यसलाई बाचन गर्ने परम्परा भएकोमा त्यसलाई तोडिएको अध्यक्ष प्रचण्डले जानकारी दिएका छन् । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन नभनी संक्षिप्त प्रस्ताव वितरण गर्ने बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठकमा स्थानीय चुनावको समीक्षा, पार्टीको पदाधिकारी चयन, आगामी चुनावलगायत एजेन्डामाथि छलफल भइरहेकोे बताइएको छ । यस्तै, माओवादी केन्द्रले पदाधिकारी चयनसहित बैठकका ९ वटा एजेन्डाहरू प्रस्तुत गरेको छ ।
बैठकमा प्रस्तुत ९ एजेन्डा
१. सहिदप्रति श्रद्धाञ्जली
२. केन्द्रीय सदस्यको शपथ
३. बैठक सञ्चालनको प्रक्रियाबारे अध्यक्षबाट जानकारी
४. प्रदेशको रिपोर्टिङ अध्यक्षहरूले गर्ने, मधेसको हकमा इन्जार्जले (१० मिनेटको समय)
५. इन्जार्जको रिपोर्टिङ (१० मिनेटको समय)
६. संगठनात्मक
क. पोलिटब्युरो, स्थायी समिति गठन
ख. कार्यविभाजन र संरचनाबारे
७. स्थानीय तहको समीक्षा
८. आगामी निर्वाचनबारे
९. विविध