सरकारी कागजात कीर्ते प्रमाणितपछि एमाले सांसद खातुनको राजीनामा

सरकारी कागजात कीर्ते गरेको अदालतबाट फैसला भएपछि  प्रदेशसभा सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । सांसद खातुनले बुधबार संसद् सचिवालयमा दिएको राजीनामा बिहीबार स्वीकृत भएको हाे।

सरकारी छाप, दस्तखत र कागजात कीर्ते गरेको अभियोगमा उच्च अदालत विराटनगरले सजाय हुने फैसला गरेको भए पनि सांसद खातुनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका कारण लामो समय कारबाही हुनबाट जोगिएको थियो । गतसाता सर्वोच्च अदालतले उच्चको फैसलालाई नै सदर गरेपछि सांसद खातुनले पदबाट राजीनामा दिएकी हुन् ।

मोरङको कदमाहा गाउँ विकास समितिमा रहेको ३ कठ्ठा १० धुर जग्गाको मोही प्राप्त गर्न खातुनले कागजात, हस्ताक्षर र सरकारी छाप कीर्ते गरेकाे थियाे । २०७१ साल चैत महिनामा गाविस सचिवको तर्फबाट सिफारिस गरेको पत्र तयार पार्दा दुई वटा सिफारिसमा एउटै दर्ता नम्बर भेटिएपछि कीर्ते गरेको खुलेपछि मुद्दा परेको थियो । सोही मुद्दामा जिल्ला अदालत मोरङले दोषी प्रमाणित गर्दै एक वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । त्यो फैसलाविरुद्ध पुनरावेदन गर्न उच्च अदालत पुगेकी खातुनको मुद्दामा उच्च अदालतले सजाय थप गरी एक वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

त्यस फैसलाविरुद्ध सर्वोच्च गए पनि सर्वोच्चले मुद्दा अगाडि बढाउन अस्वीकार गर्दै उच्च अदालतकै फैसला सदर गरेको थियो । नेकपा एमालेको समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा निर्वाचित खातुनको राजीनामापछि प्रदेशसभामा एमालेको सांसद सङ्ख्या सभामुखसहित ३८ रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.