धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले वर्षादमा विपद् व्यवस्थापन तथा प्रकोप न्यूनिकरण गर्न प्रत्येक जिल्लामा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा हालै बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले मनसूनी पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ बनाएर सबै मन्त्रालय, प्रदेशस्थित सबै सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समितिहरुलाई विपद् पूर्वतयारी गरी धनजनको क्षति हुन नदिनसमेत निर्देशन दिएको मुख्यमन्त्रीका स्वकीय सचिब प्रेम कुँवर (प्रख्यात)ले जानकारी दिए । यस्तै, प्रकोपको बेला सवारी आवागमन सुचारु राख्न आवश्यक पर्ने जनशक्ति, हेभी इक्विपमेन्ट, ढुङ्गा, रबर बोट एवं अन्य व्यवस्थापकीय कार्यहरु समन्वयात्मक र प्रभावकारी बनाउने निर्णय गरेको उनले बताए ।
यसकालागि तीनवटै सुरक्षा निकायलाई तत्काल दश/दश लाख रुपियाँ र नौवटै जिल्ला विपद् व्यवस्थापन समितिहरुलाई पाँच/पाँच लाखका हिसाबले रकम उपलब्ध गराउने निर्णय गरेको छ । स्वकीय सचिब कुँवरका अनुसार बैठकले विपद् पीडितलाई प्रदेश विपद् व्यवस्थापन तथा राहत वितरण निर्देशिका २०७६ बमोजिम राहत रकम तत्काल वितरण गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।
उक्त निर्णयअनुसार प्रदेश सरकारबाट प्रदान गरिने राहत वितरण गर्ने कार्यमा प्रत्येक जिल्लामा आन्तरिक मामिला तथा कानून मन्त्रालयले तोकेको प्रतिनिधि वा प्रदेशस्तर कार्यालयको प्रतिनिधिको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय प्रतिनिधि, विपद् घटेको स्थानीय तहको विपद् सम्पर्क व्यक्ति, नेपाल प्रहरी, नेपाल रेडक्रस वा विपद सम्बन्धी कार्य गर्ने गैरसरकारी संस्थाको प्रतिनिधिसम्मिलित पाँच सदस्यीय कार्यदल बनाउने निर्णय गरेको उनको भनाइ छ ।