विपद् व्यबस्थापनकाे तयारीमा रहन मुख्यमन्त्री भट्टकाे आग्रह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेशमा भित्रिदै गरेकाे मनसूनबाट उत्पन्न विपद् व्यबस्थापनकाे तयारीमा अलर्ट भएर रहन आग्रह गरेका छन् । विपद व्यबस्थापनकाे तयारीकालागि विहीवार मुख्यमन्त्रीकाे अध्यक्षतामा बसेकाे प्रदेश विपद व्यबस्थापन परिषदकाे बठकमा मुख्यमन्त्री भट्टले यस्ताे आग्रह गरेका हुन् ।
बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ अनुसार यस वर्ष कैलाली र कञ्चनपुर जिल्लामा बाढीका कारण कुल दुई लाख तीन हजार छ सय ९५ जनसंख्या तथा अन्य सात जिल्लाहरुमा पहिरोका कारण ५९ हजार सात सय २० जना प्रभावित हुनसक्ने अनुमान गरिएको छ । यस्तै बाढी र पहिरोको उच्च जोखिममा रहेको कैलालीमा ९३ हजार आठ सय ७७ जना प्रभावित हुने अनुमान गरिएको छ ।
प्रदेशका सात पहाडी जिल्लामा पहिरो र बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ ।
सो कार्ययोजना अनुसार डोटीमा १४ हजार चार सय ६१, बाजुरामा ११ हजार दुई सय ८४, बैतडीमा १० हजार ८५, डडेल्धुरामा नौ हजार तीन सय २५, बझाङमा पाँच हजार दुई सय ७१, अछाम चार हजार आठ सय एक र दार्चुलामा चार हजार तीन सय ९३ जना प्रभावित हुने अनुमान गरिएको छ । ‘नेपाल मनसुन फोरमले, यस वर्ष कैलाली, कञ्चनपुरको दक्षिणी क्षेत्र तथा बझाङ, बाजुरा र दार्चुला जिल्लाको उत्तरी भगमा सरदरभन्दा वढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ भने अन्य स्थानहरुमा ३५ देखि ५५ प्रतिशत सम्भावना रहेको पाइन्छ’ सो कार्ययोजनामा भनिएको छ –‘यस विश्लेषणका आधारमा यस वर्षको मनसुनमा विपद्का घटनाहरूमा उल्लेख्य वृद्धि हुने आंकलन गर्न सकिन्छ ।’
प्रदेशमा मनसुन अवधिमा तराइ क्षेत्रमा जोखिम उच्च हुन सक्ने रोगहरु तथा समस्याहरूमा मलेरिया, स्क्रब टाइफस, डेगु, कालाजार र सर्पदंशको समस्या बढी हुने गरेको कार्ययोजनामा उल्लेख छ । प्रदेशका पहाडका जिल्लाहरुमा स्क्रब टाइफस, रिस्पाइरेटरी इन्फेक्सन, कालाजार तथा केही स्थानमा सर्पको समस्या र डेंगु जस्ता रोगहरुको समस्या रहेको पाइएको जनाइएको छ । प्रदेश सरकारले प्रदेशमा पाँच कलष्टर बनाई विपदको जोखिम न्यूनिकरण गर्ने गरी कार्ययोजना बनाएको बैठकपछि मुख्यमन्त्री भट्टले जानकारी दिए ।