महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गरेको दोस्रो दिक्षान्त समारोहमा कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले सम्बोधन गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।
सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्र संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माणको कार्य अगाडि बढाइने उनले बताए ।’ प्रधानमन्त्री देउवाले भने, ‘नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ ।’
विश्वविद्यालयले सुदूरपश्चिमका निम्न र मध्य आय भएका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गरेको बताउदै देउवाले गुणस्तरीय जनशक्ति उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयको समयानुसार शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्नुपर्ने बताए । सम्बोधनका क्रममा देउवाले ‘आउदा केही वर्षमा मुलुककै उत्कृष्ट संस्था बन्नेमा आशावादी छु ।’ ‘लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्तिको आवश्यकता यस सुदूरपश्चिम विश्वविद्यालयले पुरा गर्ने पनि बताए ।
समारोहमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । यस्तै ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी पनि दीक्षित भएका छन् । दोस्रो पटक आयोजना भएको दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले विभिन्न पदक प्राप्त दीक्षित विद्यार्थीहरुलाई पदक वितरण समेत गरेका थिए ।