वर्षायाम लाग्न थालेपछि बाढीपहिरो जोखिम क्षेत्रका बासिन्दा त्रसित

बाजुरा । वर्षा सुरु भएसँगै बाजुराका बाढीपहिरो जोखिम क्षेत्रका बासिन्दा त्रसित बन्न थालेका छन् । आफूहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिदिन प्रभावित क्षेत्रका बासिन्दाले माग गर्दै आएको भएपनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन ।

२०७८ सालको जेठ, असार, साउन र भदौमा पटक–पटक आएका बाढीपहिरोले बाजुराको नौवटै स्थानीय तहमा भौतिक तथा मानवीय क्षति पु¥याएको थियो । बाढीपहिरोपीडितलाई सरकारले स्थानान्तरणको कुनै व्यवस्था अहिलेसम्म गर्न सकेको छैन । पीडितहरूले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सुरक्षित ठाउँमा स्थानान्तरणको माग गर्दै आएका छन् ।

बाढीपहिरोले जीर्ण बनेको घरमै बस्दै आएका पीडितहरू वर्षासँगै त्रसित छन् । बाजुराको बूढीनन्दा, त्रिवेणी गौमूल, बडिमालिका, बूढीगङ्गा खप्तड छेडेदह गाउँपालिकाका पहिरोपीडित परिवार यस समस्याबाट पीडित रहेका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ को पारतोला बस्ती त यो वर्ष सुक्खा पहिरोको उच्च जोखिममा परेको थियो । २०७८ सालको माघ महिनाको पहिलो सातादेखि बस्तीको माथिबाट लगातार सुक्खा पहिरो गएपछि सो बस्ती जोखिममा परेको थियो ।

खप्तड छेडेदह गाउँपालिकाको गुइबन बस्ती पनि लामो समयसम्म पहिरोको निकै जोखिममा रहँदै आएको छ । २०५६ सालदेखि सो बस्तीको झन्डै सय भन्दाबढी परिवार पहिरोको जोखिममा बस्दै आएको छ । अहिलेसम्म त्यो बस्तीको स्थानान्तरण हुन सकेको छैन । हिउँदमा पहिरो नलाग्ला भन्ने सोचमा गाउँ फर्केका सो बस्तीका स्थानीयको पनि हालत उस्तै देखिन्छ । स्थानीय सुन्तला रावतले आफ्नो दुखेसो पटक–पटक सरकारसँग राखे पनि खासै चासो नदिएको गुनासाे छ ।

बाजुराका नौवटै स्थानीय तहमा जोखिमका ती बस्ती स्थानान्तरण लागि गत वर्ष नै तथ्याङ्क सङ्कलन गरिएको थियो । नौवटै स्थानीय तहका स्थानीय जनप्रतिनिधिले झन्डै दर्जनौँ बस्ती जोखिममा रहेको तथ्याङ्क सङ्कलन गर्दै जिल्ला प्रशासन कार्यालयमा पठाएका थिए । विवरण पठाएको झन्डै एक वर्ष बित्न लाग्दा पनि स्थानान्तरणको कुनै जानकारी स्थानीयले पाउन सकेका छैनन् ।

स्थानीय तहबाट आएको जोखिम बस्तीको तथ्याङ्कको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बाजुराले गृह मन्त्रालयमा पठाएको र त्यसको अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको गाेरखापत्रमा समाचार छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.