गर्मी बढ्न थालेसँगै दार्चुलाका साैँका समुदाय गाउँ फर्किन चटाराेमा

दार्चुला। गर्मी बढ्न थालेसंगै दार्चुला व्यासका सौँका समुदाय गाउँ फर्किने तयारीमा छन्। हिउँदमा व्यासका दुई गाउँ छाङरु र तिङ्करमा बाक्लो हिमपात हुने भएकाले चिसो छल्न बेँसी झरेका थिए। मङ्सिरमा खलंगा झरेका स्थानीय वैशाख पहिलो साता गाउँ फर्किने (कुञ्चा सर्ने) तयारीमा रहेको व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए।

कुञ्चा सर्न नेपालको भूमी भएर खलंगासम्म आवतजावत गर्ने बाटो भने अझै निर्माण भएको छैन। सरकारले अझै पनि नेपाली भूमि भएर जाने बाटो निर्माण नगरेपछि भारतीय बाटोको प्रयोग गर्दै गाउँ फर्किनुपर्ने बाध्यता रहेको उनले बताए। खलंगाबाट धार्चुला हुँदै भारतीय बाटोबाट गाउँ फर्किनका लागि बहुयात्रा अनुमति–पत्र बनाउने काम भइरहेको छ।

व्यास गाउँपालिका–१ छाङरुस्थित सीमा प्रशासन कार्यालयको सेवा दार्चुला सदरमुकाम खलंगास्थित तिङ्करखेडाबाट सुरु गरिएको दुई दिनमै १५३ जनाले बहुयात्रा अनुमति–पत्र लिएको सीमा प्रशासन कार्यालय प्रमुख एवम् शाखा अधिकृत मोहनसिंह धामीले बताए।
‘अहिले छाङरु र तिङ्करका सौँका समुदाय खलंगामा बसोबाँस गरिरहेका छन्’, शाखा अधिकृत धामीले भने ‘उनीहरु कुञ्चा (बसाइँ) सर्नको लागि भारतीय बाटो हुँदै गाउँ जान बहुयात्रा अनुमति–पत्र बनाउन आइरहेका छन्।’

व्यवसायी छ/छ महिनामा खाद्यान्न, वस्तुभाउ र लालाबालासहित कुञ्चा सर्ने गरेका छन्। विदेशी भूमि प्रयोग गर्दै कुञ्चा सर्ने अनुमतिका लागि जिल्ला समन्वय समिति र वडा कार्यालयको सिफारिसका आधारमा बहुयात्रा अनुमति पत्र जारी हुन्छ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.