धनगढी । कैलालीमा आज बुधबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइदै छ । १३ स्थानीय तह रहेको कैलाली जिल्लामा नौ सयभन्दा बढी केन्द्रबाट खोप लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
पहिलो चरणमा ७ वटा पालिकामा आज बुधवारदेखि र बाँकी ६ वटा पालिकामा २५ गतेबाट खोप कार्यक्रम शुरु गर्न लागेकाे जनस्वास्थ्य प्रमुख ललित धामीले बताए । नियमित खोप कार्यक्रम चलेकाले पनि दुई चरणमा टाइफाइडविरुद्धको खोप कार्यक्रम राखिएको उनले बताए । सबै स्थानीय तहका विद्यालयमा खोप केन्द्र राखिएको उनको भनाई छ ।जिल्लामा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेवीका, स्वयंसेवक शिक्षकको सहयोगमा एकैसाथ १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन थालिएकाे हाे ।
टाइफाइड रोगको सङ्क्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको नीतिअनुसार जिल्लाका १३वटै स्थानीय तहमा एकैसाथ खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य प्रमुख धामीले जानकारी दिए । टाइफाइड रोगको सङ्क्रमण सबै उमेर समूहमा हुने भएपनि १५ वर्षमुनिका बालबालिकामा सङ्क्रमण डर बढी हुने भएकाले सरकारले खोप अभियान शुरु गरेको बताएको छ । सरकारको नीतिअनुसार सञ्चालन गर्न लागिएको टाइफाइडविरुद्धको खोप अभियान सफल पार्न जिल्लाका सबै संयन्त्र परिचालन गरिएको स्वास्थ्य प्रमुख धामीले बताए ।
खोपका लागि जिल्लामा दुई लाख ४९ हजार बालबालिकाको रेकर्ड भएकाे तर दुईलाख तीन हजार खोप आएपनि अपुग भएकाका लागि खोप माग गरी सबै बालबालिकालाई खोप लागाउने कार्यक्रम रहेको धामीले बताए । टाइफाइड रोगविरुद्धको खोप अभियानअन्तर्गत यसअघि जिल्लाका विभिन्न स्थानीय तह र वडास्तरसम्म राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकाय तथा पत्रकारसँग स्वास्थ्य कार्यालयले अन्तरक्रिया गरेको छ ।
अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता सरोकारवाला पक्षले जनाएको धनगढी ३ नम्बर वडामा रहेकाे अधारभूत स्वास्थ्य केन्द्र प्रमुख जानुका कार्कीले बताइन् । खोप लगाएपछि खोप लगाएको भागमा रातो हुने, सुन्निने, दुख्ने, हल्का ज्वरो आउने, वाकवाकी हुनेजस्ता समान्य लक्षण देखापर्ने भएपनि नआत्तिन र गम्भीर समस्या आइपरेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न उनले वडा स्तरीय खाेप समन्वय समितिसँगकाे अभिमुखीकरणमा जानकारी दिएकी थिइन् ।